काठमाडौं :महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा जाने भएपछि जसपाको उपेन्द्र यादव समूह प्रदेश २ को सरकार जोगाउन सक्रिय भएको छ।

केन्द्रको असर प्रदेशमा पनि परेर ठाकुर समूह बाहिरिनेबित्तिकै मुख्यमन्त्री लालबाबु राउत अल्पमतमा पर्ने अवस्था आएपछि उपेन्द्र यादव विकल्पको खोजीमा जुटेका हुन्।
विकल्पको खोजीका क्रममा केन्द्रमा सहकार्य गरिरहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग उपेन्द्रले शुक्रबार पौने २ घण्टा छलफल गरेका छन्। प्रदेश २ को सरकार बचाउनेबारे कुराकानी गर्न विमलेन्द्रको निवासमै
उनी पुगेका हुन्।
तर अहिले देशका सातै प्रदेशमा कांग्रेसको सरकार नभएकाले प्रदेश २ मा काँग्रेसको नेतृत्वमा सरकार हुनुपर्ने कुरा विमलेन्द्र निधिले उपेन्द्रसँग राखे।
निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार प्रदेश २ मा जसपाले तीन वर्ष सरकार चलाइसकेको अवस्था छ अब बाँकी अवधि कांग्रेस नेतृत्वमा सरकार बनाएर जानुपर्ने कुरा उपेन्द्रसँग राखिएको छ।
“उपेन्द्रजीले निवासमै आएर प्रदेश २ सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ। तर उपसभापति निधिले जसपाले तीन वर्ष सरकार चलाइसकेको अवस्थामा बाँकी कार्यकाल कांग्रेस नेतृत्वमा सरकार बनाउन प्रस्ताव गर्नु भएको छ,” दाहालले भने, “जनता समाजवादीले अबको बाँकी समय कांग्रेसको नेतृत्वमा सरकार बनाउन संसदीय दलका नेता रामसरोज यादवलाई मुख्यमन्त्रीमा सघाउनुपर्छ भन्ने कुरा उपसभापतिले यादवजीसँग राख्नुभयो।”
यादवले चाहिँ पहिले काँग्रेसलाई सरकारमा आउन आग्रह गर्दै मुख्यमन्त्रीको विषयमा पछि छलफल गर्न सकिने बताएको कुरा दाहाले जानकारी दिए।
उपसभापति निधिले मुख्यमन्त्रीको टुंगो लगाएपछि मात्रै अरु कुरामा सहकार्य गर्न सकिने बताएका छन्।

