काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आज जातीय छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेपाली समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको बताएकी छन्।

उनले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको भन्दै यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको पनि उल्लेख गरेकी छिन्।
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध भन्दै राष्ट्रपति भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आव्हान गरेकी छन्।
‘जातीय विभेद सामाजिक, नैतिक, मानवीय गरिमाविरुद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील रहन सबैमा आह्वान गर्दछु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ, ‘सामाजिक जागराणबाट सबैमा समभावको विकास गर्न तथा सबै जातजाती र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिबृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनु यो दिवसले सबैलाई अभिप्रेरित गर्नेछ ।
२०६३ जेठ २१ मा संसदले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको सम्झनामा २०६८ देखि यो दिवस मनाउन सुरु गरिएको हो। काेरोना महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि भर्चुअल माध्यमबाट यो दिवस मनाइँदै छ।

