साताको अन्तिम दिन बिहीबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। यसअघिका सबै रेकर्ड तोड्दै शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम गरेको हो।

बुधबार ५५.७६ अंकले बढेको नेप्से परिसूचक बिहीबार २९.६४ अंकले बढेर हालसम्मकै उच्च अंक २ हजार ८५६.७७ मा पुगेको छ। गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
सो रेकर्डलाई पनि तोड्दै नेप्से परिसूचक आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज कारोबारमा आएका २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा कारोबार भएको छ। यसअघि हालसम्मकै उच्च १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ ९१ पैसामा कारोबार भएको थियो।
नेप्से परिसूचकका उपसमूहतर्फ विकास बैंक, होटल तथा पर्यटन र फाइनान्स कम्पनीको शेयरमा उच्चरुपमा वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनी, जलविद्युत् कम्पनि र ट्रेडिङतर्फ गिरावट देखिएको छ। त्यस्तै बैंकिङ उपसमूहमा पनि २.७१ प्रतिशतको वृद्धि भएको छ।
आजको कारोबारमा मञ्जु श्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। साथै गोर्खाज फाइनान्सको ९.६८ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा ९.५५ प्रतिशतको वृद्धि भएको छ।
आज सबैभन्दा बढी शेयर मूल्यमा गिरावट आउने कम्पनिमा पञ्चकन्या माइ हाइड्रोपावरको ५.९२ प्रतिशत, राधी विद्युत् कम्पनीको ५.०६ प्रतिशत, वरुण हाइड्रोपावर कम्पनीको ४.८८ प्रतिशत, घलेम्दी हाइड्रो लिमिटेडको ४.४१ प्रतिशतले शेयर मूल्य घटेको छ।

