छनोट चरणमा ४० देश सहभागी छन् । यी देशलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता सिधैं एशियाकपमा छनोट हुनेछन् । समूहमा दोस्रो भएका आठ टोलीमध्ये उत्कृष्ट चार टोली पनि सिधैं एशियाकपमा छनोट हुनेछन् । यसरी १२ देश दोस्रो चरणबाटै एशियाकपमा छनोट हुनेछन् ।

तर, एशियाकपमा प्रतिस्पर्धा गर्ने राष्ट्रहरुको संख्या २४ छ । त्यसकारण बाँकी १२ देशको चयन तेस्रो चरणको छनोटबाट हुनेछ । दोस्रो चरणमा दोस्रो स्थानमा रहेका बाँकी चार, समूहमा तेस्रो स्थान हासिल गर्ने आठ र चौथो स्थानमा रहेका उत्कृष्ट ४ गरी कुल १६ टोली एशियाकपको तेस्रो चरणको छनोटमा पुग्नेछन् ।
चौथो स्थानका बाँकी चार र समूहको पुछारमा रहेका आठ टोलीले पनि तेस्रो चरण खेल्न पाउने आशा भने जीवितै रहनेछ । उनीहरुले यसका लागि प्लेअफ खेल्नेछन् । प्ले अफबाट यी १२ मध्ये ८ टोली तेस्रो चरणमा छानिनेछन् ।
यसरी तेस्रो चरणको खेलमा २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसमध्ये १२ टिम एशियाकपमा छनोट हुनेछन् ।
उसोत मानौं, तेस्रो चरणको छनोटमै चीन छानिएन, यस्तोमा पनि आयोजकका नाताले एशिया कपमा उसको सहभागिता पक्का नै छ, । यस्तो परिस्थिती आएमा तेस्रो चरणको छनोटबाट १२ नभएर ११ टिम एशियाकपमा छनोट हुन्छन् । तर, यस्तो संभावना निम्तिएलाजस्तो देखिन्न किनकी चीन बलियो अवस्थामा छ । समूह भएको दोस्रो स्थानमा रहेको चीनको लक्ष्य विश्वकपको आगामी चरणको छनोट खेल्ने हो । अहिलेकै अवस्था कायम राखेमा शीर्ष दुईभित्र पर्दै चीन सोझै एशिया कपका लागि छनोट हुनसक्छ ।

