काठमाडौं : विभाजनको संघारमा पुगेको नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता मावधकुमार नेपाल पक्षले आज छुट्टाछुट्टै बैठक बोलाएका छन्।

पार्टी एकता जोगाउन दुवै पक्षका दोस्रो तहका नेताहरू प्रयासरत छन्। उनीहरूको प्रयासबाट सहमति जुट्न नसकेपछि दुवै पक्षले आज छुट्टाछुट्टै बैठक बोलाएका हुन्।
वरिष्ठ नेता नेपालले आज बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएका छन्। नेपाल पक्षका केन्द्रीय सदस्यको भर्चुअल बैठक बस्न लागेको हो।
बैठकलाई नेता नेपालले सम्बोधन गर्ने भएका छन्। समसामयिक राजनीति घटनाक्रमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।
नेता नेपालले अध्यक्ष ओलीकै कारण एकताको सम्भावना टर्दै गएको बताउँदै आएका छन्। ओलीले पार्टी एकता नचाहेको नेपालको भनाइ छ। त्यसैअनुसार आजको केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ हुने भएको बुझिएको छ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले आज अपराह्न ४ बजे स्थायी समिति बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी समिति बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
स्थायी समिति बैठकमा पार्टी एकताका विषयमा भइरहेका कामकारबाहीका विषयमा छलफल हुने जनाइएको छ। ओलीले नेपालबाहेकका नेतालाई पार्टीमै राख्न कोसिस गरिरहेका छन्।

