काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभाको पहिलो बैठक भर्खरै सकिएको छ। आजबाट सुरु भएको वर्षे अधिवेशनको पहिलो बैठक दलीय धारणा राखेर सकिएको हो।

बैठकमा विपक्षी दलका सांसदहरूले प्रदेश सरकारको आलोचना गरेका छन्। दाङ क्षेत्र नम्बर १ (क) का प्रदेशसभा सदस्य इन्द्रजित थारूले अध्यादेशबाट बजेट ल्याउने संघीय सरकारले जस्तै प्रदेश सरकार चल्न खोजे मान्य नहुने चेतावनी दिएका छन्।

सत्तापक्षका प्रदेशसभा सदस्य लीला गिरीले विपक्षी सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा लामै राजनीतिक इतिहास प्रस्तुत गरे। त्यसक्रममा उनले विरोधका लागि विरोध नगर्न र विधि विधान मानेर अघि बढ्न तयार हुन विपक्षी दललाई आग्रह गरे। त्यसैगरी, सभामुखलाई आफ्नो भूमिका सही ढंगले निर्वाह गर्न पनि उनले सुझाए।

मङ्गलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा बुधबार पहिलो दिन बैठक सुरु गरी दलीय धारणा राख्ने सहमति भएको थियो। अब दोस्रो बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *