nepal airlines

काठमाडौं :  चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी आज काठमाडौं आइपुग्दै छ। वाइडबडी विमान खोप लिन सोमबार राति ११ बजे बेइजिङ गएको छ। चीनले अनुदानमा दिने घोषणा गरेको  १० लाखमध्ये ८ लाख  भेरोसेल खोप लिएर उक्त जहाज मङ्गलबार अपरान्ह काठमाडौं अवतरण गर्ने निगमले जनाएको छ।

उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत रहेका छन् ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।

अहिलेसम्म अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्‍त भएको छ। यसमध्ये भारतबाट उपहारका रुपमा १० लाख र खरिदमार्फत १० लाख खोप आएको छ। त्यसैगरी चीनले ८ लाख डोज भेरोसेल खोप दिइसकेको छ।

त्यसैगरी कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अनुदानको साढे तीन लाख खोप नेपाल भित्रिएको छ। अहिलेसम्म २६ लाख ६५ हजार ९ सय ८७ जनाले खोप लगाइसकेका छन्। यसमध्ये दुवै डोज लगाउने साढे पाँच लाख मात्रै छन्। पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो डोज लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *