काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग सरकारमा सहभागी हुनेबारे विषयमा टुंगो लागेको जसपा ठाकुर पक्षले बताएको छ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए ।  अब ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष अब एक दुई दिनमै सरकारमा सहभागी हुने बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसँगको छलफलका क्रममा पार्टीभित्रको विवाद एकदुई दिनमै टुंगो लगाएर सरकारमा सहभागी हुने ठाकुर पक्षले बताएको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको जनाएको छ। जसपाको संसदीय दलमा ठाकुर-महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।

महन्थ ठाकुरपक्षको राजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्ने अडानमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव भने विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्ने पक्षमा छन्। ठाकुर-महतो पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिने निर्णय गरेसँगै जसपमा विवाद बढेको छ।

बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *