काठमाडौं :जनता समाजवादी पार्टीभित्र अहिले एकले अर्कालाई स्पष्टीकरण सोध्ने होडबाजी नै चलेको छ । एकअर्कालाई चितबुझ्दो जवाफ नदिएमा कारबाही गर्ने चेतावनीसहित स्पष्टीकरण सोधिएका छन् तर कसैले कसैको जवाफ भने दिएका छैनन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग शनिबार पुनः स्पष्टीकरण सोधेका छन् । पहिला तीन दिनको समय दिएर ठाकुरले यादवसँग स्पष्टीकरण सोधेका थिए । तर यादवले जवाफ पेस नगरेकाले ठाकुरले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्रमा जवाफ पेस गर्न पुनः स्पष्टीकरण सोधेका छन् ।
अर्कातर्फ यादवले शनिबार नै अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग स्पष्टीकरण सोधेका छन् । यसअघि तीन दिनभित्रमा जवाफ पेस गर्नु भन्दै यादवले यी चारै जना नेतासँग स्पष्टीकरण सोधेका थिए । शुक्रबारभित्रमा जवाफ पेस गर्नुपर्ने भए पनि कसैले जवाफ नदिएपछि यादवले पुनः स्पष्टीकरण सोधेका छन् । यादवले पनि २४ घण्टाको समय दिएका छन् ।

