blood testFILE - Test tube with Corona virus name label is seen in this illustration taken on January 29, 2020. Photo: Reuters

सर्लाही : हरिवन नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ।

नगरपालिका-७, घुर्कौलीस्थित एकै परिवारमा ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित भएका हुन्। उक्त वडामा हालसम्म जम्मा १५ जना मात्र संक्रमित देखिएकामा एकै परिवारका १४ जनालाई पोजेटिभ देखिएको हो।

वडाध्यक्ष नेत्रप्रसाद मैनालीले घुर्कौलीको कुशवाहा टोलका एकै परिवारमा १४ जना कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्‌। शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ-बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो।

जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको पनि स्वाब परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। त्यस्तै, हरिवन नगरपालिका वडा नं. ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिए।

हरिवनस्थित बैंक तथा वित्तीय संस्था, सरकारी एवम्‌ गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी सहित ४८६ जनाको परीक्षण गरिएको छ। हरिवन नगरपालिकाले ४५२ जनाको पीसीआर तथा ३४ जनाको एन्टिजेन गराएको र जसमध्ये २४१ जनामा पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

हरिवन नगरपालिकाका मेयर प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवम्‌ कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको निरन्तर थ्रोट स्वाब संकलन गर्ने र कोरोना भाइरस संक्रमण फैलन नदिन यथाशक्य पहल भइरहेको जानकारी दिए।

कोरोना महामारीको दोस्रो लहरमा हरिवन नगरपालिका सर्लाहीमै सबैभन्दा बढी आफ्ना नागरिकलाई कोरोना भाइरस परीक्षण गराउने पालिका हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *