काठमाडौं : देउवा निवास बुढानिलकण्ठमा बसेको पाँच विपक्षी गठबन्धनको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ ।

बैठकले वैकल्पिक सरकार दाबी गरिएको अवस्था भएकाले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भन्दै सरकारलाई त्यस्तो चेतावनी दिएको हो । बैठकले संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तामा आग्रहसमेत गरेको छ ।
बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारका संविधान विपरीत तथा अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रह पनि गरिएको छ । 

