काठमाडौं :नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चौधौं गणतन्त्र स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन्।

शुभकामना व्यक्त गर्ने क्रममा विगतलाई सम्झँदै
गौतमले युगान्तकारी संघर्षका महानायकहरू भन्दै तीनजना नेताको नाम लिएका छन्।उनले तत्कालीन कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम लिएका हुन्।गौतमले उनीहरूलाई युगान्तकारी संघर्षका महानायकहरूको संज्ञा दिएका छन् ।
साथै, गौतमले चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीनजना नेताचाहिँ गणतन्त्रको विरुद्धमा रहेको बताएका छन्।
उनले भनेका छन्,”विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।”
उनले ती तीनजना गणतन्त्र विरोधी भनिएका नेताको नाम भने उल्लेख गरेका छैनन्।

