काठमाडौं :जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई पुन: स्पष्टीकरण सोधेको छ।

अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई-यादव पक्षले स्पष्टीकरण सोधेको हो।
यसअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसहितका नेताहरूलाई जसपाको बहमुत पक्षले जेठ ११ गते ७२ घण्टे स्पष्टीकरण सोधेको थियो। जवाफ नआएपछि चारै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको यादव-भट्टराई पक्षले जनाएको छ।
जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीद्वारा पठाइएको पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव-भट्टराई पक्षमा ३० जना रहेका छन्।
ठाकुर र महतो समूह प्रधानमन्त्री केपी ओलीको पक्षमा देखिएका छ भने यादव-भट्टराई पक्ष ओलीको विपक्षमा छ।

