च्याम्पियन्स लिगको उपाधिका लागि शनिबार दुई इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी प्रतिस्पर्धा गर्दै छन् । खेल पोर्चुगलकाे पोट्रोमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) र चेल्सी स्पेनिस क्लब रियल मड्रिडलाई पराजित गर्दै फाइनल पुगेका हुन् ।
पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको म्यानचेस्टर सिटी पहिलो प्रयासमै उपाधि जित्ने दाउमा हुनेछ । सिटी लिग उपाधि जित्दै आफ्ना सफल खेलाडी सर्जियो अगुइरोको सुखद बिदाइ गर्ने सोचमा छ । यो खेल अर्जेन्टिनी स्ट्राइकर अगुइरोका लागि सिटीको जर्सीमा अन्तिम खेल हो । उनी स्पेनिस क्लब बार्सिलोना जाने तयारीमा छन् ।
प्रशिक्षक पेप ग्वार्डिओला व्यक्तिगत तेस्रो च्याम्यिन्स लिग उपाधि जित्ने प्रयासमा हुने छन् । उनले स्पेनिस क्लब बार्सिलोनालाई सन् २००९ र २०११ मा लिग उपाधि दिलाएका थिए ।
चेल्सी पनि सिटीलाई हराउँदै दोस्रो च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा हुनेछ । उसले सन् २०१२ मा लिग उपाधि हात पारेको थियो ।
प्रशिक्षक थोमस टुचेल व्यक्तिगत पहिलो च्याम्यिन्स लिग उपाधि हात पार्ने प्रयासमा हुने छन् । उनको प्रशिक्षणमा गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) उपविजेता बनेको थियो ।
च्याम्पियन्स लिगको उपाधिका लागि दुई इङ्ग्लिस क्लब भिड्न लागेको यो तेस्रोपटक हो । सन् २००८ मा म्यानचेस्टर युनाइटेड र चेल्सीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा पेनाल्टी सुट आउटमा चेल्सीलाई पन्छाउँदै युनाइटेडले लिग उपाधि उचालेको थियो । सन् २०१९ को फाइनलमा टोटेनहमलाई २-० ले हराउँदै लिभरपुलले उपाधिमाथि कब्जा जमाएको थियो ।
कोरोना महामारीका कारण गत सिजनको फाइनल बन्द रंगशालाभित्र भए पनि यसपटक १६ हजार ५०० दर्शकले रंगशालामै गएर खेल हेर्न पाउने छन् ।
जसमा १२ हजार दर्शक चेल्सी र सिटीकै समर्थक हुने छन् । दुवै टिमका समान ६–६ हजार समर्थकले मैदान प्रवेश पाउने छन् ।

