सुर्खेत : प्याब्सन कर्णाली प्रदेशले प्रदेश अस्पताल सुर्खेतलाई कोरोना सङ्क्रमितहरूको उपचारमा सहजता होस् भन्ने हेतुले सहयोग स्वरूप २० थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ।

बिहीबार प्याब्सन कर्णाली प्रदेशका प्रदेश अध्यक्ष नैनसिंह खत्रीको नेतृत्वमा प्याब्सन केन्द्रीय सल्लाहकार सागर भुसाल, केन्द्रीय उपाध्यक्ष बालदीप कँडेल, केन्द्रीय सदस्य कल्पना कार्की, पूर्व केन्द्रीय सदस्य पूर्ण नेपाली, जिल्ला अध्यक्ष वेदप्रकाश ढकाल र जिल्ला सचिव हुमलाल भट्टराईसहितको टोली उक्त सहयोग हस्तान्तरण गर्न अस्पताल पुगेको हो।

केन्द्रीय सदस्य कल्पना कार्कीका अनुसार ३ लाख १५ हजार बराबरको अक्सिजन सिलिन्डर अस्पताललाई प्रदान गरिएको हो। सो सहयोग मेसु डाक्टर डम्बर खड्काले ग्रहण गरेका हुन्।

कोरोना सङ्क्रमणले हाम्रा दाजुभाइ-दिदीबहिनीहरू जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको अवस्थामा अक्सिजनको अभावहरण गर्नका लागि सानै मद्दतले पनि महत्त्वपूर्ण आकार लिने बुझाइले संस्थाका तर्फबाट सहयोग गरिएको कुरा कर्णाली प्याब्सन अध्यक्ष खत्रीले विश्व न्युजलाई बताए।

उनले भने, ” विश्व महामारीको भुमरीमा हामी नेपालीले पनि धेरै पीडा भोगिरहेका छौं। यस कहरबाट मुक्त हुन सबैले आ-आफ्नो स्थानबाट सक्ने भूमिका खेल्नुपर्छ। सानै योगदानहरू पनि आजको विपत्तिबाट मुक्ति दिलाउने मार्ग बन्न सक्छन्।”

विपद्का घडीमा प्याब्सनले कर्णाली प्रदेशमा सकेको सहयोग गर्दै आएको अध्यक्ष खत्रीले विश्व न्युजलाई बताए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *