काठमाडौं : एमाले अध्यक्ष केपी ओलीको कारबाहीमा परेका नेता भीम रावलले आफूहरूलाई कारबाही गर्नु हास्यास्पद भएको उल्लेख गरेका छन्।

सोमबार साँझ ट्विटरमार्फत नेता रावलले आफूहरूमाथिको कारबाही ओली गुटको फुटावादको निरन्तरता भएको समेत टिप्पणी गरेका छन्।
ओली पक्षले पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरणलगायतका राष्ट्रघाती कुकृत्य गर्ने कार्य गरेको भन्दै रावलले आरोप लगाएका छन्।
“देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवादकै निरन्तरता हो,” रावलले ट्विटमा उल्लेख गरेका छन्।
सोमबार ओली पक्षले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र नेता भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। यसैको प्रतिक्रिया स्वरूप नेता रावलले ट्विटरमा अभिव्यक्ति दिएका हुन्।

