एजेन्सी :
म्यानमार सेनाले सत्ता कब्जा गरेर प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई नजरबन्द गरेपछि पहिलो पटक सुकी अदालतमा हाजिर भएकी छन् ।

सैन्य सरकारले लगाएका अनेक मुद्दाको सुनुवाइका लागि उनी अदालत पुगेकी हुन् । तर उनी अदालत पुग्दा सुनुवाइ स्थगित भएको थियो । सुनुवाई अघि सुकीलाई उनका वकिलहरूसँग भेट्ने अनुमति दिइएको थियो ।
सुकीलाई पदच्युत गरेपछि १६ सातादेखि नजरबन्दमै राखिएको छ । म्यानमारको सेनाले उनको पार्टी नेशनल लीग फर डेमोक्रेसीले गत वर्षको नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेर जितेको आरोप लगाउँदै सत्ता हत्याएको थियो ।
फेब्रुअरी १ मा सत्ता हत्याएदेखि नै सेनाले आङ सान सुकीसहित ४ हजारभन्दा धेरै नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ । साथै सैन्य कू विरोधी प्रदर्शनको क्रममा ८ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।
७५ वर्षीया नेत्री सुकीमाथि विभिन्न ६ वटा मुद्दा परेका छन् । सोमबार उनलाई अदालतमा पहिलोपटक आफ्ना वकिलहरूसँग भेट्नका लागि ३० मिनेटको समय दिइएको थियो ।उनका वकिलहरूले सुकीको स्वास्थ्य अवस्था ठीक रहेको बताएका छन्।
दुई दिनअघि मात्रै त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टीलाई खारेज गरिदिएको छ ।

