काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रूपमा संसद् विघटन गरेको उनले बताए ।

शनिबार विपक्षी गठबन्धनको बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘फेरि संसद् पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’
प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्र गर्दै देशलाई दुर्घटनातिर लगेको भन्दै उनले भने, “यसलाई नेपाली जनताले सहने छैनन् । संसद् विघटनको विरोधमा स्थानीय तहदेखि नै प्रतिवाद सुरु हुनेछ। अदालतमा पनि सशक्त बहस हुनेछ।”
“चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रूपमा गरिएको चुनावको अर्थ छैन,” उनले भने ।
शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद् विघटनविरुद्ध राजनीतिक र कानूनी रुपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यरातमा संसद् विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ ।
विपक्षी गठबन्धन बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद् विघटनविरुद्ध सर्वोच्च अदालत आइतबार जाने बताइएको छ ।

