प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथ अंगिकार गरेर कुदेको आरोप लगाए। नेपाली कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सत्ता कब्जाको पथमा गएको ओलीले आरोप लगाए।

आज बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको पनि आरोप लगाए।
ओलीले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसविरूद्ध खनिएका हुन्।
‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणालीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने ।
तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ ।’ ओलीले भने। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि बिग्रह ल्याउन खोजेको बताए।
‘अरू पार्टी फुटाएर बागी विद्रोही सिर्जना गरेर एउटा होइन, केही तत्वलाई उकासेर कोहीका किर्ते सही गराएर उहाँ जानुभयो,’ ओलीले भने, ‘दलहरूमा विग्रह ल्याएर लोकतन्त्र बलियो हुन्छ त?’
उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।
’उहाँले हिजोमात्रै भनेको सुनें, ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे। कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू ? आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पथ्र्यो नि,’ ओलीले भने, ‘उहाँहरू आफैंले गराएको चुनावमा २३ सिटमा झरेको होइन ?’

