काठमाडौं : अभिनेत्री सुरक्षा पन्तले आफूले अभिनीत गरेको सर्ट फिल्म ‘मन बार’ हिन्दी सर्ट मुभी ‘नामर्द’को हुबहु कपी भएको भन्दै दुःख व्यक्त गरेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै सो कुरा थाहा पाउँदा निकै दुःख लागेको बताएकी छन्। उनले सो कुरा पहिले नै थाहा भएको भए काम नगर्ने बताएकी छन्। ‘हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुःख लागेको छ’, सुरक्षाले लेखेकी छन्, ‘पहिले जानकारी भएको भए पक्कै पनि काम गरिँदैनथ्यो होला।’

उनले अरूको आइडिया हुबहु कपी गर्नेको आफू सदैव विरोधी गरेको बताएकी छन्। ‘कुनै आइडिया मन परेर काम गरिन्छ। अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाहीँ मन खुम्चिन पुग्छ’, उनले भनेकी छन्,  ‘व्यक्तिगत रूपमा आइडिया हुबहु कपी गर्ने कुराको म घोर विरोधी हुँ। त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु।’

उनले इन्टरनेटका सम्पूर्ण कन्टेन्ट हेर्न नसकिने भन्दै यस्तो फेरि नहोला भन्न नसक्ने पनि उल्लेख गरेकी छिन्। ‘सायद, काम गर्नुअघि कलाकार वा अन्य टिमले विषय कपी हो वा होइन भन्ने प्रश्न लेखकको सम्मानमा ठेस नपुर्‍याई कसरी राख्न सक्ला ? सोच्नुपर्ने कुरा हो यो’, भन्दै उनले प्रश्न उठाएकी छन्।

सुरक्षाले सर्ट मुभीको दोस्रो भाग पनि बनाउने कुरा उठे पनि कपी गरेको थाहा पाएपछि काम नगर्ने मनसायमा पुगेको बताएकी छिन्। उनले यो पाठ आफूले मात्र नभएर सम्पूर्ण टिमले नै मनन् गर्न आवश्यक रहेको पनि उल्लेख गरेकी छिन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *