काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी छन् ।

बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन्।
प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिने निर्णय लिँदै वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरेपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान भएको हो ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा दलहरूलाई जेठ ७ गते साँझ ५ बजेसम्म वैकल्पिक सरकार गठनका लागि समय दिइएको छ ।
राष्ट्रपतिले जम्मा २१ घण्टाको म्याद राखेर वैकल्पिक सरकारको आह्वान गरेकी छन्। अब विपक्षी गठबन्धनले आज साँझसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पेश गर्नुपर्ने छ। राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा संवैधानिक रूपमै प्रतिनिधिसभा भंग हुनेछ र ओली कै नेतृत्वमा उपनिर्वाचन हुनेछ।


