राष्ट्रियसभाको उपनिर्वाचनमा मतदानका लागि तोकिएको समय सकिएको छ। दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन कार्यलयले बताएको हो।
प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन्।
१०९ सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जना मात्र उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन्।
उप निर्वाचनको मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा मतदानका लागि कोभिड संक्रमित मतदातालाई भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश दिइएको थियो भने अन्यले पश्चिम गेटबाट प्रवेश पाएका थिए। मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइएको थियो।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र एमालेकै माधव नेपाल समूहका साझा उम्मेदवार डा. खिमलाल देवकोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ । माधव नेपाल पक्षका केही मतदाताले पार्टीको ह्वीप विपरीत डा. देवकोटालाई समेत भोट हालेकाले कसको जीत हुन्छ भन्न कठिन छ।
माधव पक्षले कति फ्लोर क्रस भयो सोहि अनुसार नतिजा फरक पर्नेछ। त्यसो त एमालेका लागि र विपक्षी गठबन्धनका लागि माधव पक्षनै निर्वाचनको निर्णायक शाक्ति रहेको थियो।

