नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ। इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।

नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ। मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मङ्गलबार २३ खेलाडीको घोषणा गरेका थिए। यसअघि गत साता ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो।

समूह बी मा रहेको नेपालले विश्वकप छनोटमा चाइनीज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जीत तथा चार खेलमा हार ब्यहोरेको छ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन्। नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *