कोभिड–१९ को दोस्रो लहर देशभर फैलिएसँगै अक्सिजन सिलिन्डरको हाहाकार छ। यद्यपि, विराटनगर महानगरपालिकाले भने कोभिडका बिरामीलाई आवश्यकता अनुसार घरघरमै अक्सिजन उपलब्ध गराउँदै आएको छ।

‘अस्पतालमा आवश्यक अक्सिजन त हामीले उपलब्ध गराउँदै आएका छौँ। त्यसका साथै चिकित्सकको सल्लाह लिएर वा अस्पतालमा बेड नपाएर घरमै रहेका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउँदै आएका छौँ,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले केन्द्रबिन्दुलाई बताए।

मेयर पराजुलीले आफूनजिकका बिरामीलाई अक्सिजन उपलब्ध गराएको भन्ने आरोप लाग्दै आएकोमा त्यस्तो आरोप महानगरपालिका र उनको प्रयासको गलत व्याख्या भएको उनले बताएका छन्। उपमेयर इन्दिरा कार्कीले मकालु टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मेयर पराजुलीलाई त्यस्तो आरोप लगाएकी थिइन्।

‘घरमै मानिसहरूलाई अक्सिजन पुर्‍याएको सत्य हो। म आफैं यो काममा खटेको छु। तर, कहाँ अक्सिजन लैजाने भन्ने कुरा मैले होइन, हाम्रो मेडिकल टिमले निर्धारण गर्ने हो,’ पराजुलीले भने, ‘अक्सिजन उपलब्ध गराउन म आफै हिँड्ने गरेकाले आफ्नो निकटस्थलाई बाँड्यो भनेर प्रचार गर्दैछन्। तर, कसैले भन्यो भन्दैमा सेवाबाट पछि हट्न सकिँदैन।’

अक्सिजन र खोप कार्यक्रम दुवै महानगरपालिकाको मुख्य प्राथमिकता भएको पराजुली बताउँछन्। यी दुवै प्राथमिकतामा भाँजो हाल्ने काम पराजुलीको आफ्नै पार्टीका  कार्यकर्ता र उपमेयर इन्दिरा कार्कीले गरेको देखिन्छ।

धनी मारवाडी घरानालाई घरमै कोभिसिल्ड खोप उपलब्ध गराएको भन्दै नेपाल तरुण दलका महानगर सभापति सन्तोष न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् गुनासो गरेका थिए। त्यसको पनि खण्डन मेयर पराजुलीले गरेका छन्।

‘माग फारमअनुसार खोप आउँछ, लगाउने काम जिल्ला अस्पतालले गर्छ अनि स्टक राख्ने प्रावधान पनि छैन। महानगरपालिकाले सहजीकरण गरिदिने हो,’ पराजुलीले भने, ‘राज्यको नीति अनुसार खोप दिइने हो। राज्यले प्राथमिकतामा राखेको उमेर समूह र पेसागत समूहलाई खोप दिइएको हा। त्यसमा मारवाडी परे वा पराजुली नै परे पनि मेरो हातको कुरा होइन।’

‘घरमा गएर कसैलाई खोप दिइएको छैन। वीरेन्द्र सभागृह, परिवार नियोजन संघ, र कोसी अस्पताल गरी तीन ठाउँबाट मात्र खोप दिइँदैछ,’ मेयर पराजुलीले प्रस्ट पारे।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *