उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन्।

मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन्।

मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक्सिजन सेवासहितको ५१ शैयाको यो आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए।

उपप्रधानमन्त्री पोखरेलले चुनौतीपूर्ण अवस्थामा पनि आइसोलेसन केन्द्र संचालन गरेर सुन्दर दृष्टान्त प्रस्तुत गरेको भन्दै मारवाडी सेवा समितिको प्रशंसा गरे। ‘कोभिड विरुद्धको लडाईं हामी सबैले मिलेर लड्ने लडाईं हो। यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खेल्छ, तर यो लडाईंको मोर्चामा हामी सबै एकठाउँमा उभिएर लड्नुपर्छ।’ उपप्रधानमन्त्री पोखरेलले भने ।

तीन सय शैयासम्म संचालन गर्न सकिने यस आइसोलेसन केन्द्रलाई पूर्ण रुपमा संचालन गर्न सिसिएमसी र स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए।

एक वर्ष अघि कोभिडको पहिलो लहर चलेको बेला नेपालमा कोभिड परीक्षण गर्ने प्रयोगशाला नभएर विदेश पठाउन परेको अवस्था स्मरण गर्दै उपप्रधानन्त्री पोखरेलले भने– ‘अहिले देशका ८६ ठाउँमा कोभिड ल्याब स्थापना गरेका छौंं, केन्द्रदेखि स्थानीय तहसम्म कोभिडको उपचार गर्ने अस्पताल स्थापना गरेका छौं। दोस्रो लहरमा अक्सिजनको जोडजामका कारण समस्या भएको छ। ठूला अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा हाहाकार सिर्जना भएको हो। हामी यो अभावलाई जति सक्दो चाँडो पूरा गर्न चाहन्छौं।’

सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय गरी प्रारम्भ र पहल थालिएको जानकारी दिए।

उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्धको खोप खरिदका लागि पनि औपचारिक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिए। सात वटै प्रदेशमा सात वटा र काठमाडौंमा एउटा गरी एक हजार क्षमताका आठ वटा होल्डिङ सेन्टर स्थापना गर्न अर्थ मन्त्रालयले बजेट छुटाइसकेकाले छिट्टै नेपाली सेनाले निर्माण सुरु गर्ने उनले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *