हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’पनि कोरोना नियन्त्रणमा सक्रिय भएर लागिरहेका छन्। उनले आफ्नो फाउन्डेसनका तर्फबाट अस्पताललाई अक्सिजन सहयोग गरेका छन्।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन सहयोग गरेका हुन्।
त्यसो त फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ।
हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका हुन्।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरिएको हो’ धुर्मुसले लेखेका छन्।
धुर्मुसले देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनासमेत राखेको जनाएका छन्। उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रहसमेत गरेका छन्।

