संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ।

संविधान अनुसार, संघीय संसद्को प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्छ। तर अहिले सम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन। यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ।
सचिवालयले अब भने समय घर्किसकेकाले प्रि बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ। प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले नीति तथा कार्यक्रम र बजेटका कुरामा दलिय सहमति गरि छलफल छोटो बनाएर काम गर्न सकिने भएपनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको बताए।
प्रवक्ता पाण्डेले कोभिड १९ को महामारी तीब्र ढंगले बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ। तर भर्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उनले बताए।
संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रुपमा उपस्थित भएर बैठक सञ्चालन गर्ने कुरालाई मात्रै आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नै पर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको उनले बताए। तर त्यस किसिमको अवस्था आएमा प्राविधिक रुपमा सचिवालय दुरुस्त रहेको उनले बताए।


