प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोजारसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो।

तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ। यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ।

जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ। त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताए।

तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ। दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ।

त्यही सप्लायर अर्थात् जयेशले नै बाँकेकै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई भने प्रतिसिलिन्डर १५ रुपैयाँ मात्र नाफा खाएर बेचिरहेको छ। शिक्षण अस्पतालका प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनोडियाले प्रतिसिलिण्डर ४ सय १५ रुपैयाँमा खरिद गरिरहेको बताए। उनले भने, ‘त्यही अक्सिजन ल्याउन पनि रातदिन कर्मचारी खटाउनु परेको छ।’

सप्लायर्सले महेन्द्रनगर पठाउँदा ८ सय ९५ तथा धनगढी र दाङलाई ८ सय १० रुपैयाँ लिने गरेको छ। रुपन्देहीमा लोड अनलोड बाहेकको ७ सय ५० रुपैयाँ मूल्य तोकिएको छ।

भेरीमा भने अचाक्ली महँगो मूल्य राखिएको छ। चैतमा उक्त सप्लायर्सले भेरीमा सानो ३५ समेत एक हजार ८ सय ६० सिलन्डर अक्सिजन आपूर्ति गरेको छ। चैतमा मात्र उसले थोक मूल्यभन्दा ९ लाख ४९ हजार १ सय ५० रुपैयाँ बढी लिएको छ।

त्यस्तै वैशाखको १५ गतेसम्म सानो ५५ सहित ३ हजार तीन सय ३८ सिलिण्डर पठाएको छ। यस अवधिमा १६ लाख ८६ हजार ८ सय ४५ रुपैयाँ बढी लिएको देखिन्छ। गत वर्ष मंंसिर यताको रकम जोड्ने हो भने अस्पताललाई ठूलो मात्रामा नोक्सानी भएको देखिन्छ।

तेलंगाका अनुसार धनगढीदेखि रुपन्देहीसम्म ग्यास ढुवानी गर्दा पनि प्रतिसिलिण्डर एक सय ५० रुपैयाँ खर्च हुन आउँछ। अक्सिजन गाडीमा लोड अनलोड (चढाउने र झार्ने) कार्यमा प्रतिसिलिण्डर थप ६० रुपैयाँ लाग्छ। भेरी सबैभन्दा पायक र नजिक दूरीको हो। त्यसमै सबैभन्दा महँगो मूल्य परिरहेको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा अक्सिजन उत्पादक कम्पनीको एकाधिकार रहेकाले महँगो पर्न गएको बताउँछन्। टेण्डर प्रक्रियामा जाँदा सबैभन्दा सस्तो मूल्य दिनेलाई टेण्डर दिएको उनको भनाइ छ। उनले भने, ‘टेन्डरमा जानुअघि ९ सयभन्दा बढी मूल्य भनेका थिए। टेण्डरमा जाँदा पनि सबैभन्दा सस्तो ९ सय १५ परेकाले स्वीकृत गरिएको हो।’अन्नपूर्णबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *