काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष “प्रचण्ड”ले माधव नेपाल समूहले धोका दियो भन्न नमिल्ने तर्क अगाडि सारेका छन्।

संसद भवनमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो डोज खोप लगाएपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
नेपाल समूह संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै रहेको उल्लेख गर्दै प्रचण्डले माधव नेपालहरुसँग एक ठाउँमा फेरि भेट हुने कुरा बताए । पत्रकारलाई जवाफ दिने क्रममा उनले संविधानको धारा ७६ (५)मा पनि भेट हुनसक्ने बताए ।
“माधवजीसँग अहिले भर्खर पनि कुरा गर्दै थियौँ । उहाँहरु आफैं संविधान र लोकतन्त्रको पक्षमा संघर्ष गर्दै हुनुहुन्छ । अहिले नै धोका दिनुभयो भन्नु उचित हुँदैन,” प्रचण्डले भने, “सत्यको पक्षमा, लोकतन्त्रको र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ । एक ठाउँमा हाम्रो पुन: भेट हुन्छ ।”
संवैधानिक ढङ्गले हुने निर्वाचनमा जान पार्टी तयार रहेकोसमेत उनले बताएका छन् । “संविधान विरोधी ढङ्गले काम भयो भने मात्र हाम्रो कन्सन्र्ट हुने हो,” उनले भने, “संवैधानिक ढङ्गले हुने निर्वाचनमा जान हाम्रो पार्टी जहिले पनि तयार छ ।”

