मुलुकमा कोरोना संक्रमण तीब्र रुपमा बढेपछि अस्पतालमा अक्सिजन अभाव केही हदसम्म पूर्ति गर्न महावीर पुन लागिपरेका छन्। संकटका बेला पुनको राष्ट्रिय आविष्कार केन्द्रले एउटा सिलिन्डरमा डिभाइस राखेर दुईजना बिरामीलाई दिन मिल्ने उपाय निकालेको छ। यसबाट सिकिस्त बिरामीको ज्यान बचाउन मद्दत पुग्ने केन्द्रको विश्वास छ।

केन्द्रले एउटा सिलिन्डरबाट जटिल अवस्थाका दुईजना संक्रमितलाई दिन मिल्ने गरी व्यवस्था मिलाएर अस्पतालमा वितरण गरिरहेको जनाएको छ। केन्द्रका अध्यक्ष महावीर पुन भन्छन्, ‘यो कुनै प्रविधि होइन, सानो डिभाइडरको माध्यमले एउटा सिलिन्डरबाट दुईजनालाई अक्सिजन सप्लाइ गरेका हौं, यसले राम्रो काम गरिरहेको छ।’

पछिल्लो समय नेपालमा अक्सिजनभन्दा पनि सिलिन्डरको अभाव खड्किरहेको छ। भरिएको सिलिन्डरले एक व्यक्तिलाई दस घन्टा अक्सिजन सप्लाइ गर्न सक्छ भने त्यही सिलिन्डर दुईजनालाई वितरण गर्दा पाँच घन्टा थेग्नसक्छ।

‘सकभर भरि सिलिन्डरनै उपलब्ध गराउन पाए हुन्थ्यो। तर, के गर्ने सिलिन्डर छैन,’ पुन थप्छन्। केन्द्रले खाली सिलिन्डर संकलन तथा अक्सिजन भरेर वितरण कार्यलाई व्यापक बनाउँदै लगेको छ।

पुनले सामाजिक सञ्जालमार्फत हिमाल आरोही र ट्रेकिङ कम्पनीसँग  खाली अक्सिजन सिलिन्डर उपलब्ध गराउन आग्रह गर्दै आएका छन्। एक सातामा करिब ६०–७० वटा सिलिन्डर संकलन भएको उनले जनाए।

संकलित खाली सिलिन्डरमा अक्सिजन भरेर कोरोना संक्रमितलाई दिने बताए पनि प्राप्त भएका सिलिन्डरमा रेगुलेटर नभएकाले समस्या परेको पुनको भनाइ छ। उनले भने, ‘केही सिलिन्डर संकलन हुँदैछ, तर रेगुलेटर नहुँदा समस्या भएको छ।’

हिमाल आरोहीले प्रयोग गर्ने खाली अक्सिजन सिलिन्डरमा चार केजी अक्सिजन जाने र दुई समयमा अक्सिजन दिँदा ६ घन्टा जति पुग्छ। पुनले कोरोना संक्रमितका लागि अक्सिजन उपलब्ध गराउनेबारे आफूहरुले अन्य विकल्प पनि सोचिरहेको जानकारी दिए।

कसैसँग खाली सिलिन्डर भए अक्सिजन भर्नका लागि केन्द्रले संयोजन गर्ने र खाली सिलिन्डर संकलन गरेर अक्सिजन प्लान्टमा लगेर अक्सिजन भरी वितरण गर्न आफूहरु तयार रहेको उनको भनाइ छ। ‘हामी आफैंले अक्सिजन प्लान्ट बनाउन सकेका छैनौं, मोटो रकम खर्च हुन्छ, तर, अन्यत्र लगेर भए पनि अक्सिजन भरेर संक्रमितको उपचारमा सहयोग पुर्याउँछौं,’ पुनले भने।

अक्सिजनको अभाव समस्या गर्न प्रचलित नियम–कानुन र प्रशासनिक तौरतरिका बाधक रहेको उनले सुनाए। ‘संकटका बेलामा सरकारले काम गर्ने तरिका फेर्नुपर्छ, अरु बेलाजस्तो नियम–कानुन लगाउँदा कसरी नयाँ प्लान्ट र सिलिन्डर खरिद गर्न सकिन्छ,’ उनी भन्छन्। संकटकालका लागि सरकारले छुट्टै नियम कानुन ल्याउनुपर्ने उनको धारणा छ।

सरकारले तत्काल जहाँबाट भए पनि २० देखि ३० हजार खाली अक्सिजन सिलिन्डर ल्याउनुपर्ने उनको भनाइ छ।

त्यस्तै सरकारले अध्यादेशमार्फत् कोरोना महामारी रोकथामका लागि आपतकालीन कानुन ल्याउनुुपर्ने उनको धारणा छ। हाल चलिरहेका प्लान्ट र अक्सिजन उद्योगलाई तुरुन्त खाली सिलिन्डर उपलब्ध गराएर अक्सिजनको चरम अभाव कम गर्ने सकिने पुनले बताए।

‘सरकार पहिले जनताको ज्यान बचाउनुपर्याे, विकास भन्ने कुरा त्यसपछि गर्दा  पनि हुन्छ,’ उनले सुझाए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *