नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न/गाभिनका लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बिहीबार नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका छन् । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुनेछ ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ र हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेण्टको १६० अर्ब ९८ करोड रुपैयाँ र हिमालयन बैंकको १२७ अर्ब १४ करोड रुपैयाँ रहेको छ । निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको १६८ अर्ब २९ करोड रुपैयाँ र हिमालयन बैंकको १४३ अर्ब ७० करोड रुपैयाँ रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
बैंककाे सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
सम्पूर्ण सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए) मा हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ हुने बताइएकाे छ भने दुवै बैंकबीच मर्जरपूर्व लाग्ने सम्पूर्ण खर्च आधा आधा ब्यहोर्ने सहमति भएको छ । दुवै बैंक एक आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षले बताएका छन् ।

