काठमाडौं : कोरोनाभाइरस नियन्त्रणका लागि अहिले चालिएका कदम पर्याप्त नभएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन्।

मङ्गलबार स्वास्थ्य मन्त्रालयले गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री त्रिपाठीले नयाँ कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
मन्त्री त्रिपाठीले भने, “मन्त्रालय र मेरो पनि विचार के छ भने नयाँ कदम उठाउनुपर्ने आवश्यकता छ। चाहे त्यो हेल्थ इमरजेन्सी होस् वा लकडाउनमै जानुपर्ने अवस्था होस्, त्यो सरकारले सामूहिक रूपले सोचेर उठाउने छ।”
“तर एउटा कुरा स्पष्ट के छ भने अहिलेकै कदम पर्याप्त छैन। थप नयाँ कदमको आवश्यकता महसुस गरिँदैछ।”
हाल काठमाण्डौं उपत्यका लगायत सङ्क्रमण उच्च भएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएका छन्। मङ्गलबारमात्रै उपत्यकाका तीन जिल्लामा जेठ १३ गतेसम्म निषेधाज्ञा बढाइएको छ।
मन्त्री त्रिपाठीले कोरोनाभाइरसविरुद्धको खोप खरिद प्रक्रियामा कसैलाई कमिसन दिने र कसैबाट कमिसन लिने काम नभएको बताएका छन्।
“यो बीचमा धेरै हल्लाहरू आएका छन्। तर म के कुरा स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौँ र लिएका पनि छैनौँ,” उनले भने।
खोप खरिदममा अनियमितता भएको कुरा गरेर सोमबार संसदमा नेताहरुले झुटो बोलेको आरोप त्रिपाठीले लगाए ।
उनले डेटा हेरेर बोल्न र त्यो डेटा दिन आफू तयार रहेको बताउँदै भने, ‘बोल्न त बोल्नु तर बुझेर बोल्नुहोस्’, उनले भने, ‘डेटा छैन भने हामी दिन्छौँ , अनर्गल र झुटा आत्मरतिका लागि नबोल्नुहोस् ।’
“उनले कोरोनाभाइरसविरुद्धको खोप प्रति डोज चार डलरमा खरिद गरिएको हो । यदि चार डलरभन्दा कममा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार एक करोडभन्दा बढी डोज खरिद गर्न तयार छ।”
खोप खरिद गरिसके पनि भारतमै अभाव भएका कारण उसले निर्यात बन्द गरेर नेपालमा पनि खोप ल्याउन समस्या भएको बताउँदै
भारतबाहेक अन्य देशबाट पनि खोप खरिदका लागि पहल भइरहेको उनले बताए।
“अमेरिकी राजदूत र रुसका प्रतिनिधिसँग पनि खोप उपलब्ध गराउने सम्बन्धमा वार्ता गरेका छौँ,” उनले भने।
भारतको सीरम इन्स्टिट्यूटले पनि निर्यात गर्न थाल्ने बित्तिकै नेपाल प्राथमिकतामा पर्ने विश्वास आफूलाई दिलाइएको उनले बताए।
यसअघि अक्सिजनको कमी नभएको अक्सिजन राख्ने सिलिन्डर मात्रै अभाव भएको बताउँदै आएका स्वास्थ्यमन्त्री त्रिपाठीले अक्सिजनको प्रयोग अत्यन्त बढेको भन्दै माग र क्षमताको बीचमा अन्तराल आएको बताएका छन्।
उनले भने, “कोभिड- १९ को अहिलेको जुन स्वरूप छ अक्सिजनको प्रयोगको मात्रा अत्यधिक बढेको हुनाले हामीसँग मौजुदा रहेको अक्सिजन उत्पादनको क्षमता र मागको बीचमा एउटा अन्तराल आएको छ। यसले गर्दा बिरामीले अत्यन्त पीडा भोग्नुपरेको छ।”
यसबीचमा कतिपय अस्पतालमा बिग्रेका अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याए पनि माग अनुसार आपूर्ति गर्न नसकिएको उनले बताए।
यसैबीच चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउन लागिएको र त्यसमा केही सङ्ख्या आज आइपुगेको उनले बताए।

