भारतको गुजरातमा गाईको गोबरले कोरोनाको उपचार हुन्छ भन्ने समूहलाई चिकित्सककाे समूहले चेतावनी दिएको छ। यसले कुनै पनि सुरक्षा गर्नुकाे साटाे उल्टाे हानी हुने चिकित्सककाे भनाइ छ।

शरीरमा गोबरको लेपन लगाएर नुहाएमा कोरोना भाइरसबाट सुरक्षा हुन्छ भन्नु भ्रम भएको भन्दै यसले उल्टै विभिन्न किसिमको संक्रमण हुनसक्ने चेतावनी दिएको छ।
मानिसहरुको एक समूहले गुजरातमा रहेको स्वामी नारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानद्वारा सञ्चालित गौशालामा उपचार गरिरहेका छन्। गोबरको लेपनले कोभिड १९ को विरुद्ध रोग प्रतिरोधक क्षमता बढ्ने भन्दै यस्तो अभियान चलाइएको हो।
यो अभियानको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त गौशालामा २ सयभन्दा धेरै गाई रहेका छन् । एक महिनादेखि उक्त गौशालामा लगभग १५ जना मानिस हरेक आइतबार शरीरमा गाईको गोवर र गौमुत्रको लेप लगाउन आउने गरेको सञ्चालकले बताएका छन्।
यसरी लेपन लगाएकालाई गाईको दुधले पखाल्ने गरिएको छ। तर चिकित्सकहरुले यसरी उपचार गर्दा कोरोना संक्रमण निको हुने कुनै वैज्ञानिक आधार नभएकाले जोखिम झन धेरै बढ्ने चेतावनी दिएका छन्।
गान्धी नगरस्थित भारतीय जन स्वास्थ्य संस्थानका निर्देशक डा. दिलीप मावलंकरले आफूलाई यस्तो उपचार पद्धतिले कोरोना निको हुने कुनै जानकारी नै नभएको बताए। अहिलेसम्म कुनै पनि अनुसन्धानले गाईको गोबरले कोरोनाको विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउने नदेखाएको उनकाे भनाइ छ।

