काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल र भीम रावलको कांग्रेस सभापति शेरबहादुर देउवासँग मङ्गलबार बेलुका भेटवार्ता भएको छ।

स्थायी कमिटी बैठक सकिएपछि नेपाल र रावल बूढानीलकण्ठ पुगेको सुरक्षा स्रोतले जानकारी दियो । उनीहरूबीच साढे आठ बजेदेखि सवा नौ बजेसम्म वैकल्पिक सरकार गठनका विषयमा कुराकान भएको स्रोतले बतायो । छलफलमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासमेत रहेको बताइएको छ ।
मङ्गलबार बसेको खनाल-नेपाल समूहको स्थायी कमिटी बैठकले सबै दलसँग छलफल गरेर प्राप्त निचोडका आधारमा निर्णय लिने निष्कर्ष निकालेको थियो ।
जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले तटस्थ बस्दै गठबन्धन सरकार निर्माणको विपक्षमा उभिने बताएपछि कांग्रेस, माओवादी केन्द्र संकटमा छन् । वैकल्पिक सरकार गठनमा जसपाको पोजिसन हेरेर खनाल-नेपाल समूह निष्कर्षमा पुग्ने बताइएको छ ।

