काठमाडौँ, वैशाख २८ गते । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर्दा हेलिकोप्टर कम्पनीले लिने गरेको अतिरिक्त शुल्कलाई अझ न्यून गर्न प्राधिकरणले सबै हेलिकोप्टर कम्पनीलाई निर्देशन दिइसकेको स्पष्ट पारेको छ ।

यस्तै, उडानमा बिचौलियामार्फत हुन सक्ने अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गर्न सबै हेलिकोप्टर कम्पनीलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बरसमेत सार्वजनिक गर्न निर्देशन दिएको क्यानले जनाएको छ ।

क्यानको निर्देशनबमोजिम हेलिकोप्टर कम्पनीले सरकारले तोकेको प्रतिघिण्टाको भाडादरमा समेत सहुलियत प्रदान गरी उडान सञ्चालन गरिरहेको तर कोभिड–१९ सङ्क्रमित यात्रु बोक्नु पर्दा भने त्यस यात्रुको व्यवस्थापन एवम् चालक दल तथा अन्य संलग्न कर्मचारीको स्वास्थ्य जोखिमबापत थप अतिरिक्त शुल्कसम्बन्धी हेलिकोप्टर कम्पनीले लिँदै आएको पाइएको विज्ञप्तिमा उल्लेख छ । निर्धारित शुल्कभन्दा बढी रकम नलिन तथा यस सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत क्यानले सबैमा हार्दिक अनुरोध गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *