कोरोना महामारीको दोस्रो लहर नेपालमा तीव्र गतिले बढ्दै गएकाले सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित अहिलेसम्म ७० जिल्लामा निषेधाज्ञा लागू भएको छ।

निषेधाज्ञामा अत्यावश्यकभन्दा बाहेकका प्राय सबै सेवा बन्द रहेका छन्। तर बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ला रहेका छन्। यसरी काठमाडौं उपत्यकासहित धेरै जिल्लामा निषेधाज्ञा लागू भएको पहिलो एक सातामा बैंकको निक्षेपको तुलनामा कर्जा प्रवाह बढेको छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख १७ गतेदेखि २४ गतेसम्म नेपालमा सञ्चालित २७ वटा वाणिज्य बैंकहरुले कर्जा प्रवाह १५ अर्ब रुपैयाँले बढेको छ।
बैंकहरुले वैशाख १७ गतेसम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेकोमा निषेधाज्ञाको अवधि वैशाख २४ गतेसम्म कर्जा प्रवाह बढेर ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ।
त्यस्तै, निक्षेप संकलनमा पनि पहिलेको भन्दा वृद्धि भएको छ। निषेधाज्ञा सुरु भएको भोलिपल्ट वैशाख १७ गतेसम्म ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन रहेकोमा वैशाख २४ गतेसम्म आइपुग्दा १० अर्बले बढेर निक्षेप संकलन ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको तथ्यांकमा छ।
वैशाख १६ गतेबाट भइरहेको निषेधाज्ञाका बीचमा पनि बैंकहरुले बैंकिङ व्यापारमा भने विस्तारमा वृद्धि गरेका छन्। निषेधाज्ञा अघि र निषेधाज्ञापछि दुवै समयमा पहिले नै कर्जा प्रक्रिया थालेर पूरा भएकाले प्रक्रिया थालिएका सामान आयातका लागि ऋण लगानी भएकाले कर्जा लगानी बढ्न गएको बैंकहरुको भनाइ छ। बैंर्कसहरुका अनुसार निषेधाज्ञा भए पनि रेमिटेन्स आयमा कमी नआएको बताएका छन्।

