नेपाल निर्माण व्यवसायी महासंघले कन्स्ट्रक्सन होलिड माग गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले कोरोनाको दोस्रो लहरले निर्माण उद्योगमा पारेको असरबारे सरकारलाई जानकारी गराउँदै चैतदेखि कात्तिक मसान्तसम्मको अवधिलाई शुन्य समय (कन्स्ट्रक्शन होलिडे) मानेर सबै आयोजनाहरूको एकमुष्ठ एक वर्ष म्याद थप गर्न आग्रह गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ र शहरी विकास मन्त्री प्रभु साहलाई छुट्टाछुट्टै भेटेर महासंघको टोलीले सो माग राखेका हुन् । निर्माण व्यवसायीहरुले जारी निषेधाज्ञाले निर्माण उद्योग आक्रान्त भएकाले निर्माण कार्य सबै बन्द गर्नुपरेकाले आयोजनाको म्याद एक् वर्ष थप गर्न माग गरेको हो ।
विकास निर्माण सम्बन्धमा सम्बन्धित् आयोजनाहरूले आवासीय कामदार राखी निर्माण कार्य सञ्चालन गर्ने भनिए पनि श्रमीकहरू संक्रमण सर्ने डर र त्रासका कारणले काम गर्न डराउने र भएका श्रमिक पनि आ–आफ्नो वासस्थान तर्फ हिडिसकेको पनि महासंघले जनाएको छ ।
निर्माण कार्यको लागि प्रयोग हुने सवारी साधनको पास उपलब्धता सहज रुपमा नभएकाले निर्माण सामग्री पु¥याउन समस्या भएको महासंघले गुनासो गरेको छ । त्यस्तै निर्माण सामग्रीका केही ठूला उद्योगहरू खुलेपनि सोका डिलर, वितरक पसलहरू बन्द रहेकाले निर्माण कार्य प्रभावित भएको महासंघको दावी छ ।
अहिलेको विषम परिस्थितिको ख्याल गरी सहज वातावरण नहुन्जेलसम्मका लागि कर बुझाउने आवश्यक म्याद थप गरिनु पर्ने महासंघको माग छ । यसैगरी निर्माण कार्य गराइराखेका केही सार्वजनिक निकायहरूले म्याद थप हुन नसकेका निर्माण कार्यहरूको बैंक ग्यारेण्टीको दावी भुक्तानीको लागि सम्बन्धित बैंकहरूमा आवश्यक कार्वाही अगाडि बढाउने कार्य निषेधाज्ञा समाप्ति भए पश्चात अवधिभरका लागि स्थगित गर्नु पर्ने महासंघको माग छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *