लिग उपाधि जित्न निकै महत्त्वपूर्ण मानिएको खेलमा बार्सिलोनाले लिग लिडर एट्लेटिक मड्रिडसँग बराबरी खेल्यो ।बार्सिलोनाको घरेलु मैदान क्याम नोउमा शनिबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । रियल मड्रिड र सेभिल्लाले पनि आइतबार २-२ को बराबरी खेले ।

एट्लेटिकोविरुद्ध अंक गुमाउनु र रियलले अंक जोड्नुले बार्सिलोनाको उपाधि यात्रामा ठूलो धक्का लागेको छ ।हुन त बार्सिलोना शीर्ष स्थानको एट्लेटिकोभन्दा मात्र २ अंकले पछाडि छ तर उसलाई बाँकी रहेका ३ खेल जितेर मात्रै पुग्दैन । एट्लेटिको र रियलले पनि अंक गुमाउनु पर्नेछ ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि अब बार्सिलोनाले लिग उपाधि जित्न चमत्कारै हुने पर्ने बताएका छन् । यदि हामीले क्याम्प नोउमा ग्रानाडा र एट्लेटिकोविरुद्ध अंक नगुमाएको भए उपाधि यात्रा सहज हुने थियो’, कोम्यानले भने, ‘हेड टु हेडलाई आधार मान्ने हो भने पनि एट्लेटिको र रियल नै अगाडि छन् ।म अझै पनि आशावादी छु कि नतिजा हाम्रो पक्षमा आउने छ तर यसका लागि चमत्कार नै हुनुपर्छ’ कोम्यानले थपे, ‘लिगमा अझै ३ खेल बाँकी छन् र सबै सम्भावना पनि ।’बार्सिलोनाले अब लेभान्टे, सेन्टा भिगो र इबारसँग खेल्न बाँकी छ ।

