काठमाडौं : सांसदहरुको सामूहिक राजीनामा रोक्नेबारे एमालेका दुई पक्षका तीन नेताबीच भएको छलफल बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलबीच छलफल भएको हो ।

नेता नेपालसँग झण्डै आधा घण्टा छलफल गरेर पौडेल र नेम्वाङ बाहिरिएका छन् भने नेता नेपालले आफू पक्षीय सांसदहरुसँग छलफल सुरु गरेका छन् ।

नेता नेपालसँगको छलफलपछि नेता नेम्वाङले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘पार्टी अध्यक्षको चिन्ता र सरोकारका कुरा, सम्पूर्ण पार्टीका सरोकारका कुरा राख्यौ । उहाँले पनि खुलस्त सुनाउनुभयो । हामी ती कुरा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसमक्ष पुर्याउँछौँ,’ नेम्वाङले भने, ‘मिलेर जानुपर्छ भन्नेमा विवाद छैन, तर कसरी टुङ्गोमा पुर्याउने भन्ने हामी सबैको चिन्ता हो । यही सन्दर्भमा छलफल गरेर टुङ्गोमा पुर्याउन फेरि पनि भेटघाट गर्ने कुराकानी भएको छ ।’

यसै गरी,सञ्चारकर्मीहरूलाई जवाफ दिने क्रममा
अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेपाल पक्षका सांसदहरूले राजीनामा दिने कुरा आफूले नपत्याउने बताएका छन्।

माधव नेपालहरूले राजीनामा दिन लाग्नुभएको हो भन्ने प्रश्नमा पौडेलले भने, ‘मलाई विश्वास लाग्दैन। म त्यो कुरो पत्याउँदिनँ।’

यही प्रश्नको जवाफमा नेता नेम्वाङले भने, “जहाँसम्म राजीनामाको कुरा छ, त्यो चर्चा हो । हामीले भेटमा यो प्रसङ्ग उठाएका थियौं, तर उहाँले थाहा पाएजस्तो गर्नुभएन।”

लगभग आधा घण्टासम्म तीन नेताबीच वार्ता भयो। खास निष्कर्ष भने निस्कन सकेन।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *