काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले समेत बैठकमा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा बैठक स्थगित गर्न माग गरेका हुन्।
उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागी नहुन पनि परिषद्का सबै सदस्यहरुसँग आग्रह गरेका छन्।
संविधानको मर्म र भावना विपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको माओवादीको ठहर छ। यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा नजाने घोषणा गरिसकेका छन्।


