हेटौंडा :राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा. खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलको मनोनयन दर्ता भएको छ ।

देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा निर्वाचन आयोग,बागमती प्रदेश कार्यालयमा बिहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु लगायतको सहभागितामा डा.देवकोटाले मनोनयन दर्ता गरेको बताइएको छ।
त्यस्तै, सत्तारुढ एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा आइपुगेर गृहमन्त्रीसमेत रहेका थापाले मनोनयन दर्ता गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश संसदीय दलका नेता डोरमणि पौडेल प्रस्तावक र प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रही बादलले उम्मेद्वारीको मनोनयन दर्ता गरेका हुन्।
एमाले स्थायी कमिटीको आज बसेको बैठकले आफ्नो तर्फबाट बादललाई राष्ट्रियसभा सदस्य पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेलगत्तै हेलिकोप्टरमार्फत उनी हेटौंडा आएका हुन्।
मनोनयन दर्ताका लागि बागमती प्रदेश सरकारका मन्त्रीहरू तथा एमाले नेताहरूसहित बादल निर्वाचन कार्यालय पुगेका थिए ।

