काठमाडौं : वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार १:४५ तिर उनको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

सास फेर्न गाह्रो भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भने ‘अहिले केही समयअगाडि उहाँको निधन भएको छ ।’ प्रधानको कोरोना रिपोर्ट नेगेटिभ आएको कुरा पनि सविनले बताए ।
विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रधानको घरमै सांगीतिक वातावरण थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्थे ।
उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहनन्थे । यसैको प्रभावले उनको पनि संगीतप्रति रुचि बढेको थियो । एक समयका निक्कै चर्चित गायकका रूपमा परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

