एजेन्सी

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च डिफेन्डर राफइल भाराने च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत इङ्लिस क्लब चेल्सी विरुद्धको दोस्रो लेग गुमाउने भएका छन् ।
भारानेले मांसपेशीमा समस्या देखिएपछि चेल्सी विरुद्धको खेल गुमाउने पक्का भएको रियलले जानकारी दिएको छ । ला लिगा अन्तर्गत शनिबार राति ओसासुना विरुद्ध खेल्ने क्रममा भारानेको मांसपेशीमा समस्या देखिएको थियो ।
भारानेको अनुपस्थितिले रियलको डिफेन्समा केही असर गर्ने देखिन्छ । रियलका दुई डिफेन्डर लुकास भास्केस र ड्यानी कार्भाजलले पनि चोटका कारण यो खेल गुमाउने छन् ।
चोटकै कारण लामो समयदेखि मैदान बाहिर रहेका कप्तान सर्जियो रामोस र फर्लान्ड मेन्डी पनि चेल्सी विरुद्धको खेलमा उपलब्ध हुने वा नहुने कुनै टुङ्गो छैन ।रियलले बुधबार चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत दोस्रो लेग खेल्दै छ । पहिलो लेगमा घरेलु मैदानमै १-१ को बराबरी खेलेको रियललाई फाइनल पुग्न कम्तीमा पनि १-० जित आवश्यक छ ।

