शरणार्थीसम्बन्धी निकाय र देशभित्रका प्रगतिशील धारले व्यक्त गरेको आक्रोशपछि अमेरिकाका डेमोक्र्याट राष्ट्रपतिले शरणार्थीको सीमालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाउने बताएका छन्।

राष्ट्रपति जो बाइडनले न्यून सङ्ख्याले अमेरिकी मान्यताको प्रतिनिधित्व नगर्ने जनाएका छन्।

अघिल्लो महिनाका विवरणहरूमा अमेरिका-मेक्सिको सीमामा कीर्तिमानी सङ्ख्यामा मानिसहरूको घुइँचो लागेकाले थप मानिसहरूलाई प्रवेश दिनेबारे बाइडन चिन्तित रहेको जनाइएको थियो।तर सोमबार उनले ६२ हजार पाँच सयको नयाँ सङ्ख्याले, पूर्व राष्ट्रपति ट्रम्पले कायम गरेको ‘ऐतिहासिक न्यून सङ्ख्यात्मक सीमालाई’ मेटाउने बताए।

बाइडन प्रशासनले सीमामा देखिएको समस्याको कारक राष्ट्रपति ट्रम्पको कार्यकाल भएको बताउने गरेको छ।

पूर्व राष्ट्रपति बराक ओबामा शासनको अन्त्यतिर १ लाख १० हजार शरणार्थीलाई प्रवेश दिने सीमालाई राष्ट्रपति ट्रम्पले हालसम्मकै न्यून १५ हजारमा झारेका थिए।

त्यसो त गएको एप्रिलमा गरिएको एउटा आपत्कालीन घोषणामा बाइडेनले १५ हजारसम्म शरणार्थीलाई प्रवेश दिने विषयलाई मानवीय आधार र राष्ट्रिय हित दुवैले पुष्टि गरेको बताएका थिए। त्यस बेला उनले समालिया, सिरिया र यमनबाट हुने पुनर्वास कार्यक्रममाथिको प्रतिबन्ध हटाएका थिए भने अफ्रिका, मध्यपूर्व र मध्य अमेरिकाका लागि थप कोटा छुट्याएका थिए। तर शरणार्थीसम्बन्धी समूह र आफ्नै दलका सदस्यहरूबाट विरोध भएपछि ह्वाइट हाउसले मे महिनामा सङ्ख्यामा पुनर्विचार गर्ने बताएको थियो।

शरणार्थीलाई प्रवेश दिनेबारे बाइडनको पछिल्लो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय रेस्क्यु कमिटी सहितका शरणार्थी समूहहरूले स्वागत गरेका छन

ह्वाइट हाउसका एकजना अधिकारीले सोमबार रोयर्टस समाचार संस्थालाई शरणार्थी स्वीकार गर्ने सङ्ख्याको सीमालाई बढाएर राष्ट्रपतिले शरणार्थीलाई प्रवेश दिने विषय विश्वमा अमेरिकाको स्थानका लागि महत्त्वपूर्ण रहेको बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *