पत्रपत्रिका :
आगामी ६ महिनाभित्र नागरिक एपमा ८० वटा सरकारी सेवा समावेश गर्ने गरी नागरिक एपको औपचारिक शुभारम्भ गरिएको छ । नेसनल आईसीटी डेको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एप शुभारम्भ गरे । यसअघि परीक्षणका रूपमा (बेटा भर्सन) सार्वजनिक गरिएको थियो ।

एपमा रहेको क्यूआर कोड स्क्यान गरी बैंक खाता उद्घाटन गर्ने सुविधा उपभोग गरेर प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेडमा खाता खोल्दै एपको शुभारम्भ भएको घोषणा गरे । मिल्ने जति सरकारी सेवा एकै एपमार्फत दिने दाबी गरिए पनि अहिले प्यान नम्बर र प्रहरी क्लियरेन्स रिपोर्ट लिन अनि तीनवटा बैंकमा क्यूआर कोड स्क्यान गरी खाता खोल्न सकिने सुविधा छ ।

एपमा स्थानीय निकायबाट प्रदान गरिने ४० वटा सेवा र अन्य सरकारी कार्यालयबाट दिइने ४० वटा सेवा ६ महिनाभित्र एकीकृत गर्ने गरी काम भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । एपबाट हुने सबै धेरैजसो सेवा क्यूआर कोडमा आधारित बनाउने तयारी भएको मन्त्रालयले जनाएको छ । आगामी केही सातामै यातायात कार्यालयमा बुझाउनुपर्ने सवारी कर र नवीकरण शुल्क पनि एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने मन्त्रालयले बताएको छ । केही सातामै मालपोत कार्यालयमा जग्गा रोक्का र फुकुवा गर्ने सुविधा पनि एपमा एकीकृत गर्ने तयारी छ ।

स्थानीय तहतर्फको सेवा भने काठमाडौं उपत्यकाका पालिकामार्फत एकीकृत गरी देशैभरका ७ सय ५३ वटै पालिकालाई जोड्ने मन्त्रालयको योजना छ । सुरुमा बढी भीड हुने सरकारी कार्यालयका सेवा एपमा समावेश गर्न प्राथमिकता दिइएको छ । लोकसेवाको परीक्षा भर्ने, सिमकार्ड लिनेजस्ता व्यक्तिगत विवरण भर्नुपर्ने कार्यालयको सेवालाई छिटो एकीकृत गर्न तयारी भइरहेको मन्त्रालयले जनाएको छ । यसअघि जारी गरिएको बेटा भर्सनमा एपबाट प्यान नम्बर लिन सकिनेसहित आफ्नो नागरिकता, राहदानी र शैक्षिक विवरण हेर्न सकिने सुविधा थियो । अहिलेको एपमा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकका कुनै पनि शाखामा एपबाट क्यूआर कोड स्क्यान गरी खाताखोल्न सकिने सुविधा छ । अन्य बैंकलाई एपमा समावेश गर्दै लैजाने योजना रहेको मन्त्रालयले जनाएको छ । एपमार्फत क्यूआर कोड स्क्यान गर्दा सम्बन्धित कार्यालयलाई आवश्यक पर्ने कागजातको विवरणको कपी एपमार्फत प्रदान गर्न सकिनेछ ।

एपमा हाललाई स्वास्थ्य बिमा समितिमा गरिएको आफ्नो बिमाको विवरण हेर्न मिल्ने, सामाजिक सुरक्षा कोषमा जम्मा रकम हेर्न मिल्ने, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको विवरण हेर्न मिल्ने सुविधा छ । अहिले एपबाट मालपोत कार्यालयको विवरण पनि हेर्न मिल्छ । एपबाटै आफ्नो लालपुर्जाको विवरण डाउनलोड गर्न सकिने र कित्ता नम्बरको विवरण हेर्न सकिन्छ । एप शुभारम्भका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भ्रष्टाचार न्यूनीकरणका लागि एप प्रभावकारी हुने दाबी गरे । -कान्तिपुर दैनिकबाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *