अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउनुभएको छ । नेपाल अर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटका सम्बन्धमा दिएको सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताउनुभयो ।
अर्थ मन्त्रालयका अनुसार यतिबेला सरकारको सर्वाधिक प्राथमिकता जनताको जीवन रक्षा रहेको भन्दै उहाँले कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नुभयो । कोभिड–१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ का बिरामीको परीक्षण र उपचार सरकारको प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले सरकार विषम परिस्थितमा अघिल्लो पटक कोभिड–१९ का बेलाका सिकाइलाई समेत आधार मान्दै अघि बढेको स्पष्ट गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाइँ जित्नुको विकल्प नभएको जनाउनुभयो । उहाँले वातावरण सहज पार्न र पूर्वाधारहरू बढाउन प्रदेश सरकार र स्थानीय तहसँग पनि थप समन्वय भइरहेको जानकारी दिँदै जनशक्ति परिचालनमा पनि ध्यान दिएको बताउनुभयो ।
जनताको स्वास्थ्यलाई ध्यान दिएर नै यसअघि छिमेकी मुलुक भारत र चीनबाट कोभिड–१९ विरुद्धको खोप ल्याई नागरिकलाई लगाइएको भन्दै अर्थमन्त्री पौडेलले थप खोप ल्याउन पनि पहल जारी रहेको जानकारी दिनुभयो ।
कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताउनुभयो ।
जनताको जीवन रक्षाका लागि नै ठाउँठाउँमा निषेधाज्ञा जारी गर्नु परेको बताउँदै अर्थमन्त्री पौडेलले सावधानी अपनाउन, स्वास्थ्य मापदण्ड र निर्णयलाई पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।
सेजनले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थानहरू, उद्योग, कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधार, बैङ्क तथा सहकारी, लगानी, श्रम तथा रोजगार, प्रदेश, स्थानीय तह, बीमा, आर्थिक सुशासन, आर्थिक स्रोतको व्यवस्थापन गर्न सुझाव दिएको छ । सेजनका अध्यक्ष भीम गौतमले पत्रकारलाई सहुलियत ऋणको व्यवस्था गर्न, खोजमूलक समाचारका लागि प्रोत्साहनस्वरूप फेलोसिपको व्यवस्था गर्न, पत्रकारको पेसागत सुरक्षा तथा क्षमता वृद्धिका ठोस कार्यक्रम ल्याउन, आर्थिकसँग सम्बन्धित बिटको विकासका लागि प्रोत्साहन गर्नेलगायतका कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो ।


