पत्रपत्रिका:
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ।सङ्कटका बेला राज्यले नागरिकलाई ढाडस दिनुको साटो लाचारी प्रकट गरेको कांग्रेसको आरोप छ। उसले सरकारको यस्तो अभिव्यक्तिलाई लज्जाको पराकाष्ठा भनेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा स्थितिको संवेदनशीलता दृष्टिगत गरी नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नुपर्नेमा उल्टै त्रास फैलाएको उल्लेख छ। सङ्कटका बेला नगारिकमा हतास होइन, ढाडस र विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुने उनले बताएका छन्। ‘सरकारले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको सार्वजनिक रुपमा भन्नु लाचारी मात्रै होइन, गैरजिम्मेवारी पनि हो,’ विज्ञप्तिमा छ।

वर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, संसद् विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयमै पर्याप्त तयारी पनि नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियता बाँडने तर संकटका बेला अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तिको चौतर्फी निन्दा भएको छ। ‘भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने ? इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो,’ कांग्रेसको विज्ञप्तिमा छ, ‘यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन सकिन्नँ।’

लाचार अभिव्यक्ति बन्द गरी युद्धस्तरमा कोरोनाविरुद्धको संघर्षमा लागेर राज्यको क्षमता बिस्तार गर्न सरकारलाई अपिल गर्दै कांग्रेसले बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर आदिमा सरकारको वास्तविक क्षमता कति भन्ने प्रश्न गरेको छ। संक्रमणको बिस्तार कुन हदसम्म हुन सक्छ भन्ने विज्ञ अनुमान र विश्लेषण सरकारसँग छ ? बेडलगायत भौतिक पूर्वाधार बिस्तारमा के अभाव छ ? कांग्रेसको प्रश्न छ।

निजी क्षेत्रका अस्पतालहरूलाई कोरोनाविरुद्धको संघर्षमा बृहत्तर सहकार्यमा गोलबद्ध गर्ने, राजनीतिक दलहरू, संघसंस्था र समाजसँग सरकारले गरेको सहयोग अपेक्षा के हो भन्ने प्रश्न गर्दै कांग्रेसले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राखेर प्रस्तुत हुन पनि सरकारलाई आग्रह गरेको छ। खोप आयातमा अन्तर्राष्ट्रिय पहलकदमी कति भइरहेको छ भन्दै कांग्रेसले यसमा प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन सरकारलाई सुझाएको छ।

‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ। बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन,’ कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस परिस्थितिको गम्भीरताबमोजिम कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ।’ त्यस्तै मानव अधिकार तथा शान्ति समाजले पनि अस्पतालमा बेड उपलब्ध गराउन सक्ने स्थिति नभएको भने सरकारी अभिव्यक्तिको निन्दा गरेको छ।

“नागरिक दैनिक”बाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *