काठमाडौं। विश्वभर यतिवेला कोभिड-१९ विरुद्धको खोप अभियान चलिरहेको छ। नेपालमा पनि तेस्रो चरणको खोप अभियान सुरु भइसकेको छ।

हालसम्म नेपालमा कोभिड-१९ विरुद्ध १९ लाख ८९ हजार २४८ जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख ११ गते साँझ सवा ६ बजे सम्मको अध्यावधिक तथ्यांकमा उल्लेख छ। चैत १८ गते सम्मको अध्यावधिक विवरणअनुसार नेपालमा पहिलो र दोस्रो चरणमा गरेर भारतबाट आयात भएको तथा अनुदानमा प्राप्त कोभिसिल्ड खोप १७ लाख ९१ हजार ६०६ जनालाई लगाइएको छ।
त्यसपछि तेस्रो चरणमा चीनबाट अनुदान सहयोगमा प्राप्त भेरोसेल लगाउन थालिएको छ। यसबीच चीनबाट आयात भएको खोप दुई लाख जनालाई लगाइसकिएको छ।
पहिलो चरणमा खोप लगाएकाहरुलाई वैशाख ७ गतेबाट दोस्रो डोज दिन थालिएको छ। पहिलो र दोस्रो चरणमा नेपालमा खोप लगाएका १७ लाख ९१ हजारलाई दोस्रो डोज दिनका लागि खोपको उपलब्धता भने छैन।
नेपालमा पहिलो चरणमा भारत सरकारले अनुदान सहयोगमा १० लाख डोज उपलब्ध गराएको थियो। त्यस्तै नेपाल सरकारले भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरेको १० लाख खोप र कोभ्याक्स सुविधाबाट नेपालले प्राप्त गरेको तीन लाख ४८ हजार खोप गरी जम्म २३ लाख ४८ हजार डोज कोभिसिल्ड नेपालमा आएको छ। जसमध्ये झण्डै १८ लाख पहिलो र दोस्रो चरणमा खपत भइसकेको छ। अब बाँकी रहेको खोप दोस्रो डोजका लागि दिन थालिएको छ। तर, पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिनका लागि यो पर्याप्त छैन।
त्यस्तै चीनबाट सहयोग प्राप्त खोप अहिले १९ वर्षदेखि माथिकालाई दिन थालिएको छ। खोप आउने अझै निश्चित नहुँदा पहिलो डोज लगाएकाहरु दोस्रो डोजबाट बञ्चित हुने वा तोकिएको तीन सातादेखि चार साताको बीचमा लगाउन नपाउने सम्भावना बढेर गएको छ। यस्तोमा सबैको चासो दोस्रो डोज समयमा नै नलगाए के होला भन्ने छ।
नेपालमा हाल कोभिड-१९ विरुद्ध अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरी भारतको सेरम इन्स्टिच्युटमा उत्पादन भएको कोभिसिल्ड, भारतको भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन, चीनको सिनोफार्मको भेरोसेल र रुसमा विकास र उत्पादन भएको स्पुतनीक भीलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ।
पहिलो चरणमा प्रयोगमा आएको कोभिसिल्डलाई भारतले निर्यातमा रोक लगाएको छ। अन्य खोप पनि आउने तत्काल सम्भावना छैन।

