काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जसपा सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान राजनीतिमा देखिएका जालझेल, विवाद, द्वन्द जस्ता विकृति-विसङ्गतिहरूले निम्त्याउने गलत परिणामतर्फ सङ्केत गर्दै सबैलाई बेलैमा सचेत हुन आग्रह गरेका छन्।

निजी तथा दलीय स्वार्थसिद्धका निम्ति मुलुकभित्र भइरहेका चलखेल राष्ट्रका निम्ति घातक हुने भट्टराईको धारणा रहेको छ।सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो विचार व्यक्त गरेका हुन्।
हाल सङ्घीय- प्रदेश सरकारमा भइरहेका हर्कतउपर टिप्पणी गर्दै डा.भट्टराईले बताएका छन्,”सांसद किनबेच,अपहरण ,निष्कासन ,अस्पताल भर्ना र संसद् विगठन,स्थगन,अवरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला-पाउला तर अन्तत:लोकतन्त्र,समाजवाद सङ्घीयता,संविधानले हार्नेछ। अनि देश राष्ट्रियता,स्वाधीनता,सार्वभौमसत्ताले हार्नेछ।”
उनी सबैलाई सचेत हुन आग्रह गर्दै भन्छन्,” वेलैमा चेतौं;राष्ट्रिय सहमति-एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!”
गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुने समयमा एकजना जनमोर्चाका सांसद अनुपस्थित भएको र पछि उनी अस्पतालको आईसीयूमा फेला परेको सन्दर्भसँग जोड्दै भट्टराईले राष्ट्रमा व्याप्त सबै प्रकारका राजनीतिक जात्रा अन्त्य गर्न ट्विटरमार्फत आग्रह गरेका छन्।
