एजेन्सी: पहिलो अन्तरिक्षयात्री नील आर्मस्टङका सहयात्री समेत रहेका एपोलो ११ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनी १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्टङ र बज अल्ड्रिनसँगैका एक सदस्य हुन् । क्यान्सरका कारण यही बुधबार उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

कोलिन्सका सहयात्री नील र बज चन्द्रमामा हिँडिरहँदा उनले भने चन्द्रमामा हिँड्न पाएका थिएनन् । नील र अल्ड्रिनले चन्द्रमामा हिँडिरहँदा कोलिन्सले भने उनीहरुलाई झण्डै २८ घण्टा एक्लै पर्खिरहेका थिए।

अन्तरिक्षयात्रामा कोलिन्सको भूमिका ‘कमान्ड मोड्युल पाइलट’को थियो । उनलाई चन्द्रमामा हिँड्ने अवसर भए पनि उनी एपोलो ११ बाट ओर्लिएका थिएनन् ।

कोलिन्स १९३० मा रोममा जन्मिएका थिए । उनका पिता जेम्स एल कोलिन्स अमेरिकी सेनाका मेजर जनरल थिए । अमेरिकी सैन्य शिक्षालयबाट १९५२ मा ग्र्याजुएशन गरेपछि कोलिन्स एयर फोर्समा भर्ना भएका थिए । जहाँ उनी लडाकु पाइलट बने । अल्ड्रिन भन्दा एक वर्षपछि उनी ग्र्याजुएट भएका थिए ।

१९६२ मा पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी पाइलट बनेपछि उनले नासामा आवेदन दिएका थिए । तर उनी दोस्रो पटक १९६३ मा मात्रै छानिएका थिए । उनी नासा अन्तर्गत अन्तरिक्षयात्रीहरुको तेस्रो समूहमा थिए ।

नासाले कोलिन्स, आर्मस्टङ र अल्ड्रिनलाई एपोलो ११ को क्र्यू सदस्यको रुपमा १९६९ को जनवरी ९ मा घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *